काठमाडौं – नेकपा माओवादी केन्द्रले यसअघि समानुपातिकतर्फ निर्वाचित भएका व्यक्तिलाई फेरि समानुपातिकमा नदोहो¥याउने भएको छ । पार्टी पदाधिकारीको बुधबार बसेको बैठकले समानुपातिक उम्मेदवारका लागि मापदण्ड बनाएको हो ।

पदाधिकारी बैठकले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची तयार गर्नका लागि पार्टी प्रदेशहरुले आज साँझसम्म प्रतिनिधित्वको निर्धारित क्षेत्र छुट्याएर सूची पेस गर्ने, समानुपातिकको तालिका तयार गर्दा अन्तरिम व्यवस्थापिकाबाहेक अरु समयमा समानुपातिक सदस्य भएकालाई नदोहो¥याउने, भर्खरै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेकोलाई प्राथमिकता नदिने र सूची पेश गर्दा सम्बन्धित समितिको बैठकले अनिवार्य निर्णय गरेको हुनै पर्ने निर्णय गरेको छ ।

यसैगरी माओवादीले गठबन्धनमा सिट बाँडफाँडबारे सकरात्मक छलफल भए पनि चर्चामा आए जस्तो कुनै सहमति नभएको बताएको छ । यस्तै पदाधिकारी बैठकमा अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्न बनेको समितिको प्रतिवेदनबारे प्रारम्भिक छलफल भएको छ ।