नवलपरासी – शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरुले आज बुधबार नवलपरासीको रामग्राम नगरपालिका घेराउ गर्दै प्रदर्शन गरेका छन् । सामुदायिक विद्यालयमा प्रधानाध्यापकसहित एकैपटक ३३ जना शिक्षकको सरुवा गरेपछि नगर क्षेत्रको शैक्षिक क्षेत्रमा हलचल मच्चिएको हो ।

देशभर राष्ट्रिय बाल दिवस मनाइरहेका बेला सदरमुकाम परासीको रामग्राम नगर क्षेत्रका विद्यार्थीहरु भने आन्दोलनमा उत्रिएका हुन् । बाल दिवसको अवसरमा नगरपालिकाको सभाहलमा चित्रकला प्रदर्शनी राखिएको थियो । तर विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि कार्यक्रम स्थगित भएको छ । आन्दोलनका कारण नगरपालिकाको काम ठप्प बनेको छ । विद्यार्थीहरुले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो ।

पढाइ राम्रो गर्ने शिक्षकको सरुवा गरेका कारण आन्दोलन गरिएको विद्यार्थीहरुले बताएका छन् । सरुवा फिर्ता नभएसम्म आन्दोलन जारी रहने पवन माविका विद्यार्थीहरुले बताएका छन् । पवन माविबाट प्रधानाध्यापकसहित ६ शिक्षकको सरुवा गरिएको छ । नगर क्षेत्रमा ३२ वटा सामुदायिक विद्यालयमा छन् । ति विद्यालयमा कुल १ सय ४१ जना शिक्षकले अध्यापन गराउँदै आएका छन् । जसमा मावि तहका ८ जना, निमावी तहका २० जना र प्रावितहका ५ जनासहित ३३ जना शिक्षकको सरुवा भएको नगर शिक्षा शाखाका प्रमुख रुद्र प्रसाद रेग्मीले जानकारी दिनुभयो । सरुवा भएकाहरु सबैको नगर क्षेत्रकै विद्यालयहरुमा सरुवा भएको हो ।

सरुवा भएकामा शिक्षकहरु एकै विद्यालयमा ३ वर्षदेखि २८ वर्षमा कार्यरत रहेको रेग्मीले बताउनुभयो । लामो समयसम्म एउटै विद्यालयमा बस्नु भन्दा अर्को विद्यालयमा जाँदा शैक्षिक सुधार हुने अपेक्षाले सरुवा गरिएको रेग्मीको भनाई छ । रामग्राम नगरपालिका मेयर धनपत यादवले नियमानुसार सरुवा गरिएकाले विद्यार्थीहरुको मागलाई कार्यपालिकाको बैठक बसेर टुङ्ग्याउने बताउनुभयो ।