काठमाडौं – महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।

जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ । केही सदस्यहरुले महाअभियोग लगाउने आधार भेटिएको भन्दै पूरक प्रश्नको आवश्यकता नरहेको बताउँदै आएका छन् । अहिले बिहान ९ बजे बस्ने बैठकले यस विषयमा आवश्यक निर्णय लिने बताइएको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट महाअभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको हो ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाअभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाउनुभएको छ । उहाँले आक्षेप लगाएका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने विषयमा समितिको आजको बैठकले निर्णय लिने भएको बताइएको छ ।