काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले नागरिकता विधेयक बाहेक आफूसमक्ष प्रमाणीकरणका लागि आएका पाँच विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो ।

सङ्घीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका पाँच विधेयक संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज मङ्गलबार प्रमाणीकरण गरिएका विधेयकहरूमा तथ्याङ्कसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् । तर, दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयकलाई भने राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको छैन ।