काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने काम सकेको छ । आज मङ्गलबार दिउँसो सिंहदरबारमा जबरालाई सोध्न बाँकी ८ वटा प्रश्न सोधेसँगै जबराको बयान सकिएको हो ।

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको थियो । जबरासँगको बयान सकिएपछि समितिले यसै महिनाको अन्त्यसम्ममा अध्ययन प्रतिवेदन प्रतिनिधिसभामा पेश गरिने नेपाली काङ्ग्रेस संसदीय दलका सचेतक एवम् समिति सदस्य मीन विश्वकर्माले जानकारी दिनुभयो ।

जबरालाई पूरक प्रश्नका लागि भने बोलाइने छ । जबरासँग गत भदौ १५ गतेदेखि बयान लिन सुरु गरिएकोमा आज चौंथो पटक बयान लिएर बयान लिने काम सकिएको हो । समितिले आवश्यक परे भोलि वा पर्सि पनि जबरासँग पूरक प्रश्न सोध्ने तयारी गरेको छ ।

साथै जबराले बयानका क्रममा नाम लिएका व्यक्तिलाई समितिले छलफलका लागि बोलाउने विषय पनि समितिमा उठेको छ । बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको दावी गरिरहनु भएको छ ।

प्रधानन्यायाधीश जबरा विरूद्ध २०७८ फागुन २१ गते सत्तारुढ गठबन्धनका ९८ जना सांसद्ले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधिसभाले महाअभियोगबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।