काठमाडौं – चिनियाँ जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्सुले नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । आज मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का शीर्ष नेताहरुसँग भएको भेटमा जनकङ्ग्रेसका अध्यक्ष झान्सुले अमेरिकी सहयोग एमसीसी र एसपीपीबारे चासो व्यक्त गर्नुभएको हो ।

भेटमा सहभागी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ‘नेपालमा बढ्दो अमेरिकी सक्रियताबारे उहाँहरुको चासो थियो, यस चासोका विषयमा हामीले एमसीसी र एपसीपीमा खेलेको भूमिकाबारे जानकारी गरायौं’ भन्नुभयो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा चिनियाँ टोलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै नेताहरु वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, उपमहासचिव हरिबोल गजुरेल, पम्फा भूसाल, शक्तिबहादुर बस्नेत, सचिव राम कार्कीलगायतका नेताहरुको सहभागी हुनुहुन्थ्यो ।

भेटमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालका प्राथमिकता प्राप्त क्षेत्रका ठूला परियोजनामा लगानी भित्र्र्याउन चिनियाँ पक्षसँग आग्रह समेत गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका परियोजनामार्फत भइरहेका आयोजनाको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिनुभएको सहाभागी एक नेताले बताउनु भयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा दसैं, तिहारलगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न आग्रह पनि गर्नुभएको थियो । नेता प्रचण्डले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

दुई पार्टीबीचको सम्बन्ध कूटनीतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको प्रचण्डको भनाइ थियो । अध्यक्ष प्रचण्डले भन्नुभयो –‘हामी चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौं । राष्ट्रपति सीजिङपिङको बलियो नेतृत्वमा चिनियाँ विशेषतासहितको समाजवाद निर्माण गर्न र विश्व भ्रातृत्वको विकासका लागि महाधिवेशन सफल बनोस् ।’

अध्यक्ष प्रचण्डले नेपाल ‘एक चीन नीति’प्रति दृढ रहेको उल्लेख गर्दै नेपाली भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन नदिनेमा आफुहरु सजग रहेको जिकिर समेत गर्नुभयो ।