फाइल तस्वीर

काठमाडौं – महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज मङ्गलबार पनि बयान लिने तयारी गरेको छ । समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान सक्ने गरी तयारी गरेको हो ।

बयानका लागि जबरा सिंहदरबारस्थित समितिका हलमा पुग्नु भएको छ । समितिले जबरासँग यसअघि पनि तीन पटक बयान लिइसकेको छ । समितिले जबरासँग बयानका लागि ४३ प्रश्न बनाएको थियो । तीन पटकको बयानको क्रममा आइतबारसम्म ३५ वटा प्रश्न सोधनी भएको र आज ८ वटा प्रश्न सोधेर बयान सक्ने तयारी भएको छ ।

बयानको क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सहकर्मी न्यायाधीशहरु, पूर्वन्यायाधीशहरु, पत्रकार, वरिष्ठ कानुनविद्हरु, मिडिया सञ्चालकहरुलाई समेत आरोप लगाउनु भएको छ ।

बयानको क्रममा जवराले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णु पौडेलप्रति रक्षात्मक अभिव्यक्ति दिंदै उहाँहरुप्रति आभार समेत व्यक्त गर्नुभएको थियो ।

समितिका एक सदस्यले बताउनुभए अनुसार जबरालाई छोटो समयमा सक्नेगरी पूरक प्रश्न पनि सोध्ने र बयान सकाउने तयारी भइरहेको छ । आजको बैठकपछि जबराको बयान टुंगिनेछ भने बुधबारसम्म समितिले आफ्नो प्रतिवेदन तयार गरी प्रतिनिधिसभालाई बुझाउने छ ।