काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरूबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा छलफल भएको जनाइएको छ । भेटमा माओवादीका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्लको सहभागिता रहेको थियो ।

यसअघि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष लीले भेटवार्ता गर्नुभएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष झान्सु सोमबार काठमाडौँ आउनुभएको हो ।
सोमबार नै सभामुख सापकोटा र अध्यक्ष लीबीच सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । अध्यक्ष लीले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा मनित्रपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अपराह्न शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ । अध्यक्ष लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने र भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम रहेको बताइएको छ ।