काठमाडौं – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।

बैठकमा समितिले तयार गरेका प्रश्नहरुको बयान लिनेछ । जबराले अब बाँकी ८ वटा प्रश्नको जवाफ दिनुपर्नेछ । यसअघि जबरालाई ३५ प्रश्न गरिएको थियो । बयान नसकिएकाले आज आठवटा प्रश्नमा सवाल÷जवाल गरिने भएको हो ।

आइतबार बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहोर्याउनुभएको थियो ।

आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले “नेपालको संविधानविपरीत मैले केही गरेको छैन, हरेक पार्टीमा बारका पदाधिकारीको आकाङ्क्ष्क्षा हुन्छ, हरेक पार्टीले न्यायाधीश नियुक्तिका लागि नाम नै पठाएका हुन्छन्, मैले गरेको काम सबै छर्लङ्ग छ भन्ने सवाल जवाफ दिंदै आफूले संविधान र कानुनबमोजिम काम गरेको बताउनुभएको थियो ।”
उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले जबरालाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । जबराविरुद्ध गत फागुन १ गते प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

जबरााविरुद्ध नेपाल बार एसोसिएशन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । संसदले महाअभियोगमाथि छानविन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ । तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ ।