फाइल तस्वीर ।

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणा हिजो सोमबार नेपाल भ्रमणमा आउनु भएका चीनको राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनुहुने कार्यक्रम रहेको छ । स्थायी समितिका अध्यक्ष झान्सुले आज राजनीतिका उच्च नेतृत्वसँग भेटघाट गर्न लाग्नु भएको हो ।

नेपालको चार दिने औपचारिक भ्रमणका लागि हिजो काठमाडौं आइपुग्नु भएका झान्सुले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुने छ । स्थायी समितिका अध्यक्ष झान्सुले आजै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । आगामी मङ्सिर ४ गते हुनलागेको निर्वाचनभन्दा करिब दुई महिना अघि भएको यस उच्चस्तरीय चिनियाँ टोलीको भ्रमण र देशका दुई ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

यसैगरी झान्सुले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्नुहुने कार्यतालिका रहेको छ । चिनियाँ पाहुना झान्सुले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्नुहुनेछ ।

चीनको राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल आए लगतै हिजो साँझ सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गर्नुभएको थियो । सभामुख सापकोटा र अध्यक्ष भान्सुबीच हिजो सहयोग आदानप्रदान गर्न ६ बुँदे सहमति पत्रमा हस्ताक्षर समेत भएको थियो लीको सम्मानमा हिजो साँझ सभामुख सापकोटाले रात्रिभोजको आयोजना गर्नुभएको थियो ।

आज चिनिया पाहुना टोलीको सुरक्षाका लागि भन्दै काठमाडौंमा सवारी आवतजावतमा कडा पारिएको छ । झान्सु आवतजावत गर्ने रुटलाई पूर्णरुपमा खाली गराइएका कारण अन्य क्षेत्रमा पनि प्रभाव पर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । हिजा सोमबार पनि राजधानीका सडकहरुमा लामो समयसम्म सवारी साधन जाममा परेका थिए । उपत्यकाका तीनवटै जिल्लामा ट्राफिक समस्या भएको थियो ।


उपत्यका ट्राफिक प्रहरीका अनुसार आज पनि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा समस्या हुन सक्ने छ । प्रमुख मार्गको ट्राफिक आवागमनमा सोमबारको जस्तै हुन सक्ने प्रहरीले बताएको छ ।