काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरू भएको बैठक खाना, खाजापछि पनि चलिरहेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडको टुङ्गो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल’ प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँडसम्बन्धी कार्यदलका सदस्यहरूको सहभागीता रहेको छ ।

काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ९० सिटको मात्र भागबन्डा लगाएर तयार पारेको अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ । अब बाँकी ७५ सिटमा सिट बाँडफाँडको जिम्मा शीर्ष नेतालाई दिइएको छ । ९० सिटमा पनि १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी परेको छ । सोही कारण दलहरूलाई सिट बाँडफाँडमा सकस परेको हो ।

कार्यदलका एक सदस्यका अनुसार आजै सिट बाँडफाँडको टुङ्गो लगाउनेछ । उहाँका अनुसार, ‘सम्भवतः आजको बैठकले सिट बाँडफाँडबारे एउटा सहमतिमा पुग्छ होला । प्रदेशको पनि सिट बाँडफाँड गर्नुपर्ने भएकाले प्याकेजमै टुङ्गो लगाउने कि भन्ने मत केही नेतामा देखिएकोले केहि ढिलाई भएको हो ।