काठमाडौं – चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष तथा सभामुख ली चान्सु तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आइपुग्नुभएको छ । उहाँ आज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गर्नुभएको हो ।

सभामुख ली चान्सुलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गर्नुभएको छ । सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आउनुभएका अध्यक्ष लीले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नुहुने कार्यसूची रहेको छ । उहाँ सोल्टी होटेलमा केही समय आराम गरेपश्चात् नेपाली समकक्षी सापकोटासँग भेटवार्ताका लागि संसद् भवन नयाँ बानेश्वर जाने तयारी रहेको बताइएको छ ।

सभामुखले लीको सम्मानमा आज सोमबार साँझ रात्रि भोजको आयोजना समेत गर्नुभएको छ । तर, राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले भने बेलायती महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक दिवस मनाइरहेकाले यस्तो बेला आयोजना गरिएको रात्रि भोजमा आफू सरिक नहुने जनाउ दिनुभएको स्रोतले बताएको छ ।

सभामुख ली चान्सुले भोलि मङ्गलबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । उहाँले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा नै छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष ली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने र सोही दिन दक्षिण कोरियातर्फ प्रस्थान गर्नुहुने कार्यसूची रहेको छ ।