फाइल तस्वीर

काठमाडौं – जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्नु पर्ने संवैधानिक वाध्यता भएको बताउनु भएको छ । राजधानीमा आज सोमबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष त्रिपाठीले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नै पर्ने विकल्प नरहेको धारणा व्यक्त गर्नु भएको हो ।

संविधानले दिएको संसदीय सर्वोच्चता कायम रहने कि नरहने भन्ने प्रश्न जोडिएको बताउँदै अध्यक्ष त्रिपाठीले सङ्घीय संसद्को दुवै सदनले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरे मुलुकमा दूर्भाग्यपूर्ण अवस्था आउने चेतावनीसमेत दिनु भयो । नागरिकता विधेयकलाई लिएर राजनीतिक विभाजन ल्याउन खोजेको भन्दै त्रिपाठीले ‘यसले कहिनकहीं दूर्भाग्यपूर्ण अवस्थामा देशलाई लैजान्छ’ भन्नुभयो ।

‘संविधानत संसद्ले पारित गरेको विषयलाई राष्ट्रपतिले एक पटक पुनर्विचारका लागि पुनः संसद्मा पठाउन सक्ने व्यवस्था छ । तर, दोस्रो पटक पनि संसद्ले कुनै पनि विधेयक पारित गर्छ भने त्यो संविधानमा व्यवस्था भएअनुसार त्यसलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नु बाहेक अन्य विकल्प छैन’ जप्रपा नेपालका अध्यक्ष त्रिपाठीले भन्नुभयो ।