काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु सङ्क्रमणको जोखिम कम गर्न कर्मचारीलाई विशेष अनुरोध गरेको छ । मन्त्रालयका सह–प्रवक्ता डा समिर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन अनुरोध गरिएको छ ।

प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने भएकोले यसको टोकाईबाट बच्नु नै उत्तम उपाय हुने मन्त्रालयले जनाएको छ ।

डेंगुको बढ्दो सङ्क्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ’खोज र नष्ट गर’ अभियानलाई तिब्र बनाइएको भन्दै मन्त्रालयले डेंगु रोगको बारेमा सन्देशमुलक सूचना सामाग्रीको प्रकाशन र प्रसारण भइरहेको र डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको जनाएको छ ।

305587387_5897380296960972_8339800571722476968_n.jpg