काठमाडौं – राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष तथा चिनियाँ सभामुख ली चान्सु औपचारिक भ्रमणका लागि आज सोमबार नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख चान्सु तीन दिने नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमणमा नेपाल आउन लागेको र उहाँहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै झान्सुले आजदेखि आगामी बिहिबारसम्म भ्रमण गर्ने जानकारी दिएको हो । ली तथा उनको प्रतिनिधिमण्डलका सदस्यहरूले आज साँझ सभामुख सापकोटासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची रहेको छ । वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुभएको छ ।

भोलि मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्ने कार्यसूची रहेको छ । यस्तै, भ्रमणका क्रममा अध्यक्ष लीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । बुधबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ । आगामी मंसिर ४ मा चुनाव आउनुअघि दुई कम्युनिस्ट पार्टीसँग हुन लागेको भेटवार्तालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।