फाइल तस्वीर

लण्डन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घको एनआरएनए एकेडेमीद्वारा आइतबार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी एक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको कुनै अर्थ नहुने बतानुभयो । उहाँले अहिले विश्वले पुँजीलाई भन्दा ज्ञान, सिप, परम्परा, संस्कार र अनुभवलाई महत्त्व दिन थालेको बताउनुभयो ।

डा. महतोले विदेशमा सङ्घर्ष गरेर केही हदसम्म नेपालीहरू स्थापित हुनसकेकोमा खुसी व्यक्त गर्दै विदेशमा सिकेको ज्ञान सिप र अनुभव आफ्नै देशमा लगाउन आग्रह गर्नुभयो । उहाँले नेपाललाई आर्थिक समृद्धि मात्र होइन बौद्धिक, धार्मिक, सांस्कृतिक रुपमा पनि समृद्धि बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले देशको समृद्धिको लागि काम गर्न चुनौतीपूर्ण भए पनि यसलाई अवसरको रुपमा लिनु पर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा. हेमराज शर्माले संघको अभियानको स्थापना नै देशमा ज्ञान, सिप र अनुभवलाई देशमा भित्र्याउने उद्देश्यले भएको स्मरण गराउनुभयो । उहाँले पनि नेपालको समृद्धिको लागि काम गर्न गम्भीर भएर लाग्न आग्रह गर्नुभयो ।