महोत्तरी – पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मिटरब्याजीहरूले पीडितका छोरीचेलीमाथि पनि शोषण गरिरहेको बताउनुभएको छ । शनिबार भंगाहा नगरपालिकामा मिटरब्याजी पीडितहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले साहुकारहरूले विपन्न नागरिकलाई दिएको पीडालाई महसुस गरी सदनमा पनि पीडितहरूको विषयमा आवाज उठाएको बताउनुभयो । ‘हामीले आवाज उठाएपछि सरकारले मिटरब्याजीलाई अपराधीको सूचीमा राखेको छ,’ उहाँले भन्नुभयो, ‘मिटरब्याजीहरूको अत्याचारको विषयमा डटेर लागिपरेका छौं ।’

नेता पोखरेलले अदालतको फैसलाप्रति पनि प्रश्न उठाउनुभयो । अदालतबाट फैसला गर्दा पीडित झन् पीडित भएको भन्दै उहाँले ध्यानाकर्षण गराउनुभयो । उहाँले अदालतको फैसलाका कारणले पीडितहरू साहुकारबाट भाग्नुपर्ने अवस्था आएको भन्दै अदालतलाई निष्पक्ष फैसलाको लागि आग्रह गर्नुभयो । मिटरब्याजीहरूको विषयमा सदन र मिडियाबाट निक्कै आवाज उठेपछि सरकारले अहिले देशैभरिका पीडितहरूलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न अनुरोध गरेको छ । मिटरब्याजी पीडित संघर्ष समितिका अनुसार देशभर १०औं हजार पीडित भए पनि अहिलेसम्म २३ सयले मात्र आवेदन दिएका छन् ।