फाइल तस्वीर

काठमाडौं – प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो ।

बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान पनि सुरु गरिएको छ । जबराको आज आइतबार चौथो दिनको बयान हो । यसअघि तीन दिन लिइएको बयानमा उहाँसँग ११ वटा प्रश्न सोधिएको थियो । उहाँले बयानका क्रममा आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको औचित्य नै सकिएको दाबी गर्दै आउनुभएको छ ।

जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो । गत १ फागुनमा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका सांसदले उहाँविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गर्नुभएको थियो । महाअभियोग दर्ता भएसँगै उहाँ प्रधानन्यायाधीश पदबाट निलम्बनमा पर्नुभएको हो ।