बुटवल – बुटवलमा विद्यालय जान भनी घरबाट हिँडेका तीन जना विद्यार्थी शुक्रबारदेखि बेपत्ता भएका छन् । परिवारका अनुसार बुटवल उपमहानगरपालिका–११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गएका थिए । तर, विद्यालयमा हाजिर नभएको र घरमा पनि सम्पर्कविहीन भएका हुन् ।

नवीन औद्योगिक मावि कक्षा–९ मा पढ्ने दुई र नहरपुर मावि कक्षा–८ मा अध्ययनरत एकजना सँगै घरबाट निस्केको र सम्पर्कविहीन भएको परिवारले जनाएको छ । सागरका मामा राजु पन्थीले झोला बोकेर विद्यालय गए पनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए ।

परिवारका अनुसार बेपत्तामध्ये समीरले शनिबार दिउँसो करिब २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञातस्थलमा राखिएको जानकारी गराएका छन् । उनले आफूहरूलाई अचेत बनाएर ल्याएको म्यासेजमा लेखे पनि त्यसपछि कुनै सम्पर्क भएको छैन । इलाका प्रहरी कार्यालय बुटवलले परिवारको निवेदन अनुसार सबैतिर खोजबिन गरिएको र शनिबार भएकाले कलडिटेल तथा अरू प्रविधिबाट भने हेर्न नसकिएको बताएको छ ।