फाइल तस्वीर


काठमाडौं – पाँचदलीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक आज आइतबार बस्दै छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँडको विषयलाई टुङ्ग्याउन हिजो शनिबार बसेको शीर्ष नेताहरु बैठक निष्कर्षविहीन भएपछि पुनः आज बैठक बस्न लागेको हो ।

सत्ता गठबन्धनको बैठक अहिले बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको छ । आजको बैठकमा सिट बाँडफाँडको विषयमा छलफल गरी अन्तिम टुङ्गो लगाउने बताइएको छ ।

हिजोको बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बैठकमा नआएपछि औपचारिक बैठक हुन सकेन । बैठकलाई नेताहरुको भेटघाट र अनौपचारिक रूपमा सोही विषयमा कुराकानी मात्र भएको बताइएको थियो । सिट बाँडफाँडको विषयमा जसपा अध्यक्ष सहमत नभएका कारण हिजोको बैठकमा सहभागी नहुनुभएको बताइएको छ ।

यद्यपि, सोही पार्टीका प्रवक्ता मनीष सुमनले भने पार्टी अध्यक्ष यादव पार्टीकै कामले जिल्ला जानुभएको हुँदा बैठकमा उपस्थित हुन नसक्नु भएको जानकारी गराउनु भएको छ । ‘हाम्रो उपेन्द्रजी आउँदाआउँदै ढिलो भयो’ त्यसैले खासै छलफल भएन’ सोही कारण बैठक नभई बालुवाटरमा सामान्य कुराकानी मात्र भएको प्रवक्ता सुमनको भनाइ थियो ।

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित सिट बाँडफाँड कार्यदलले लिखित प्रतिवेदन शीर्ष नेताहरुलाई नबुझाएको जसपाका प्रवक्ता सुमनले दावी गर्नुभयो । कार्यदलले जे जति कुरामा सहमत जुट्यो त्यही किसिमले शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाइएको कुरा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।