काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । शनिबार साँझ बसेको बैठकमा सबै दलहरुले आ–आफ्नो दाबी कायमै राखेपछि बैठक विनानिष्कर्ष सकिएको थियो ।

सिट बाँडफाँडको मोडालिटी बनाउने जिम्मेवारी पाएको कार्यदलले खाका तयार गर्न नसकेपछि शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । तर कुनै सहमति भने हुन सकेको छैन ।

यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँडमा सहमति नजिक पुगेको भए पनि हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको नेताहरुको भनाई छ ।

आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।