फाइल तस्वीर

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनविरुद्ध भाषण तथा आरोप प्रत्यारोप गर्दै हिँड्न नहुने बताउनु भएको छ । नेपाली काङ्ग्रेसका नेता एवम् गृहमन्त्री खाँणले आज शनिबार पार्टीको भ्रातृ सङ्गठन नेपाल तरुण दल, काभ्रे जिल्लाले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो अभिव्यक्ति दिनुभएको हो ।

गृहमन्त्री खाँणले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि गठबन्धन तोड्ने पक्षमा पार्टीको केन्द्रीय समिति नरहेको उल्लेख गर्दै त्यसका विरुद्धमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भाषणबाजी गर्दै हिँड्नु गलत हुने भन्दै अहिलेको अवस्था मिलेर जानुपर्ने बताउनुु भएको छ ।

उक्त कार्यक्रममा बोल्दै नेता खाँणले गठबन्धनमा आवद्ध भएको हुनाले नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धनले उठाएका उम्मेदवारहरुको पक्षमा उभिनु राजनीतिक धर्म र दायित्व दुवै भएको भन्दै आफू काङ्ग्रेस केन्द्रीय सदस्य र गृहमन्त्री भएको नाताले सत्तारुढ गठबन्धनलाई बचाएर आगामी निर्वाचनलाई सुनिश्चित र सुरक्षित गराउने दायित्व पूरा गराउन प्रतिवद्ध रहेकोसमेत कार्यकर्ताहरुलाई बताउनु भयो ।

गृहमन्त्री खाँडले ‘आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बुद्धिमतापूर्वक सिट बाँडफाँडमा पार्टीले आफ्नो अडान राख्नु पर्दछ। तर, गठबन्धन तोडेर हेरौं भनेर भन्नुहुन्छ भने नेपाली काङग्रेसको केन्द्रीय समितिले अहिलेको गठबन्धन तोड्दैन’ भन्नुभयो । मन्त्री खाँणले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य र इमान्दार साथीहरुले यसरी पार्टीका तरुण साथीहरुलाई बोलाउने र गलत भ्रम श्रृजना हुने गरी भाषण गर्नु पार्टी निर्णय विपरित हुनेसमेत बताउनु भयो ।

यतिबेला नेपाली काङ्ग्रेसको भूमिका के हो ? भन्दै गृहमन्त्री खाँणले आफु नेपाली काङ्ग्रेसको एउटा केन्द्रीय सदस्य र गठबन्धन सरकारको गृहमन्त्रीसमेत भएको नाताले पनि पाँचदलीय गठबन्धनलाई बचाएर आगामी निर्वाचन सुनिश्चित र सुरक्षित गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्धी खाँणले ‘तरुण दलको उक्त कार्यक्रममा बोल्दै आगामी सङ्घीय र प्रादेशिक निर्वाचनलाई शान्तिसुरक्षा प्रदान गर्ने, निर्वाचन निष्पक्ष, स्वतन्त्र, भयरहित रुपमा सम्पन्न गर्ने दायित्व मेरो हो । त्यो म पूरा गर्नेछु । हामी गठबन्धनमा आवद्ध छौं । गठबन्धनको उम्मेदवारलाई जिताउने हाम्रो राजनीतिक विश्वसनीयता पनि हो’ भन्नुभयो ।
नेपाली काङ्ग्रेसको संस्थापन इतर पक्षले गठबन्धन गर्न नहुने भन्दै पार्टी केन्द्रीस समितिको निर्णय विपरित अभिव्यक्ति दिन थालेका छन् । यसले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई नै प्रतिकूल असर पर्न सक्ने नेता तथा कार्यकर्ताहरु बुझ्न आवश्यक छ ।