फाइल तस्वीर ।

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत गठित महाअभियोग सिफारिस समितिको बैठक आज शनिबार बस्दै छ । समितिको बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्यान्न १२ बजे बस्न लागेको हो ।

सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज पनि प्रश्नोत्तर गरिने भएको छ । महाअभियोग सिफारिस समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश जबरासँग तीन दिन बयान लिइसकेको छ । निलम्बित प्रधानन्यायाधीश जबरासँग हालसम्म ११ वटा प्रश्नको जवाफ लिइसकेको छ । समितिले जबरासँग सोध्नका लागि ४३ वटा प्रश्नहरु तयार गरेको थियो । जसमध्ये ११ वटा प्रश्न सोधिएका छन् भने बाँकी ३२ वटा प्रश्न छन् ।

नेपाली काङ्ग्रेसका सांसद एवम् महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टका अनुसार निलम्बित प्रधानन्यायाधीश जबरासँगको बयान छिट्टै सक्ने गरी काम हुनेछ । एघार सदस्यीय महाअभियोग सिफारिस समितिलाई निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएर तीन महिना भित्र संसदलाई प्रतिवेदन बुझाउने गरी समयसीमा तोकिएको थियो । तर, समितिले जबरासँग बयान लिन र प्रतिवेदन तयार गर्न एकमहिना पनि काम गर्न नपाउने अवस्था छ । असोज १ गतेदेखि संसद्को समय सकिने भएकाले महाअभियोगको आरोप खेपेका निलम्बित प्रधानन्यायाधीश जबराको अभियोग के हुन्छ भन्नेमा अन्योलता थपिएको छ ।

आगामी निर्वाचन सम्पन्न नहुँदासमम प्रतिनिधिसभा नै नरहने भएकोले महाअभियोग सिफारिस समितिको पनि आयु सकिने भएकोसँग प्रधानन्यायाधीशविरुद्धको महाअभियोग तुहिने निश्चित प्रायः छ । भलै प्रधानन्यायाधीश जबराभने पुनः सर्वोच्च अदालत फर्किन सक्ने अवस्था भने नरहेको कानूनका विज्ञहरुको भनाइ छ ।