काठमाडौं – मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)पार्टी असन्तुष्ट समूह नयाँ मोर्चा घोषणा गरेको छ । रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गरेर असन्तुष्ट समूहले ‘क्रान्तिकारी मोर्चा नेपाल’ घोषणा गरेको हो ।

नवगठित मोर्चाले आगामी मंसिरमा हुने संघीय र प्रदेशको निर्वाचनसमेत बहिष्कार गर्ने निर्णय गरेको छ । मोर्चाका अध्यक्ष विष्णु खड्काले पार्टीभित्र आफूहरूले विद्रोह गरेर संयुक्त राजीनामा दिएर आज नयाँ मोर्चाको घोषणा गरेको जानकारी दिनुभयो । राजनीतिक पार्टी जनताको बिचमा जानुपर्छ भन्ने माग राखे पनि नेतृत्वले त्यसमा सुनुवाइ नगरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले क्रान्तिकारी शक्तिको रक्षा गर्नुपर्ने माग अघि सारेका थियौं। यदि साँच्चिकै क्रान्तिकारी पार्टी हो भने सिद्धान्त र व्यवहारमा तालमेल हुनैपर्छ । देखाउने दारा एउटा र चपाउने दारा अर्कोको रुपमा पार्टीको विकास भयो र लाइन छाडेपछि पार्टी परित्याग गर्यौं ।’

सोही पार्टीमा बसेर नेपाली जनताको हित र विकासको काम हुन नसक्ने आफूहरूले निष्कर्ष निकालेको र लगत्तै मोर्चा गठन गरेको उनको स्पष्टोक्ति थियो । उहाँले पार्टी क्रान्तिकारी मुद्दाहरू लागु नगरी दासहरू उत्पादन गर्ने भट्टीको रुपमा विकास भएकोसमेत आरोप लगाउनुभयो ।

अध्यक्ष खड्काले वैद्य नेतृत्वको पार्टीभित्र स्वार्थका झुण्डहरुको गुट, नेतृत्वको गुलामी गर्नेको समूह, दलालीकरणको विकाससँगै क्रान्तिकारी आवरणमा प्रतिक्रान्तिकारीहरू हाबी भएको समेत टिप्पणी गर्नुभयो । उहाँले नेतृत्वमा संकिर्णवाद, जडसुत्रवाद, निम्न पुँजीवादी चिन्तन र दक्षिणपन्थी अवसरवाद हाबी भएको पनि आरोप लगाउनुभयो ।

अध्यक्ष खड्काले २०७८ चैत्र १३ गते ५ नं. प्रदेशबाट र गत साउन १६ गते ३ नं प्रदेश साथै देशभरिबाट सामूहिक राजीनामा दिँदै औपचारिक रुपमा पार्टी परित्याग गरेको जनाउनुभयो । उहाँले खड्कालगायत केन्द्रीय सदस्य सुरेश वली, प्रदेश सदस्य धनवीर चौधरीलगायत सयौंको संख्यामा परित्याग गरी नयाँ मोर्चा निर्माणमा लागेको दाबी गर्नुभयो ।

उहाँले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने पनि बताउनुभयो । देशमा अहिले भइरहेको व्यवस्थाले जनताको हित नहुने कुरा पुष्टि भइसकेको उहाँको दाबी थियो । उहाँले अहिलेको व्यवस्था हटाउनुपर्नेमा जोड दिँदै यही व्यवस्था रहेसम्म मोर्चाले संघर्षका कार्यक्रम ल्याउने चेतावनी दिनुभयो ।

कार्यक्रम सञ्चालन गणेश घिमिरेले गर्नुभएको थियो भने कार्यक्रममा अभियन्ता डिबी लामिछाने, नेकपा केन्द्रीय सचिवालय सदस्य कृष्णहरी भट्टले मन्तव्य राख्नुभएको थियो ।