चितवन– प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।”

नेपाली काङ्ग्रेस चितवनद्वारा आज यहाँ आयोजित ‘जनताको साथमा काङ्ग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धनको विरोधमा नबोल्न काङ्ग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।”

उहाँले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।” गठबन्धनका कारण काङ्ग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गर्नुभयो ।

गठबन्धन भएर सरकार बनेकै कारण नेकपा (एमाले)को एकलौटी अन्त्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरुको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन ।” हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उहाँले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।