फाइल तस्वीर

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको बताउनुभएको छ । पोखरामा आज शुक्रबार अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेको बताउनुभएको हो ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति बनाउनुपर्ने प्रचण्डको भनाइ छ । प्रचण्डले भन्नुभयो, ‘हाम्रो लक्ष्य के छ भने प्रदेश र सङ्घको निर्वाचनमा जाँदा गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी कम्युनिस्ट पार्टी बनोस् । देशकै निर्णायक राजनीतिक शक्ति बनोस् । हामी यही ढङ्गले तालमेल गर्न खोज्दै छौँ ।’