काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताउनुभएको छ । काठमाडौंमा आज शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले मुलुकको विकासका सपना पूरा गर्न नारा नभएर काममा ध्यान दिनुपर्ने बताउनुभएको हो ।

उहाँले नारालाई काममा रूपान्तरण गर्न जनप्रतिनिधि र समुदायबिच सहकार्य हुनुपर्ने जिकिर गर्नुभयो । नेता सिंहले भन्नुभयो, ‘कसैले मिठो नारा दिँदैमा हाम्रो विकासको सपना पुरा हुँदैन । नारालाई साकार बनाउन सबै जना निरन्तर रुपमा लाग्नुपर्छ । जनप्रतिनिधि र समुदायको सामूहिक प्रयासबाट असम्भव काम पनि सम्भव हुन्छ । त्यो यहाँ देखिएको छ ।’

नेता सिंहले राम्रा प्रतिनिधि चयन गर्दा त्यसको प्रतिफल कस्तो हुन्छ भन्ने उदाहरण काठमाडौंमा क्षेत्र नम्बर १ ले देखाएको दाबी समेत गर्नुभएको छ । नेता सिंहले निर्वाचनमा उम्मेदवार छनोट गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले समुदायमा काम गर्दा पारदर्शी रूपले गर्नुपर्ने धारणा समेत राख्नुभयो ।