काठमाडौं – काठमाडौं महानगरपालिकाले वीर अस्पताल र शंकरदेव क्याम्पससहित ६ वटा सरकारी निकायलाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । महानगरपालिकाले वीर अस्पताल, शंकरदेव क्याम्पस, आरआर क्याम्पस, नेपाल कमर्श क्याम्पस, दशरथ रंगशाला त्रिपुरेश्वर र सरस्वती बहुमुखी क्याम्पस ठमेललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो ।

महानगरपालिकाका राजश्व विभाग प्रमुख शिवराज अधिकारीका अनुसार ती अन्तर्गतका कार्यालयले आफ्नो क्षेत्रभित्र बहालमा लगाएका थिए । उहाँले उनीहरूलाई बहाल लगाई आम्दानी गरेको कर बुझाउन महानगरले पटक–पटक ताकेता गर्दै आएको बताउनुभयो ।

ताकेता गर्दा पनि अहिलेसम्म कर नबुझएकाले सम्बन्धित निकायलाई बहाल आम्दानीको विवरणसहित कर बुझाउन समयसीमा दिइएको हो । महानगरले वडा कार्यालयमा गई नियमानुसारको जरिवानासहित बहाल कर बुझाउन भनेको छ । यी निकायले कर नबुझाए महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर असुल गरिने जनाएको छ ।