फाइल तस्वीर

काठमाडौं – सत्तासाझेदार दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आगामी निर्वाचनपछि देशको अर्थतन्त्रमा सुधार ल्याउने दावी गर्नुभएको छ । नेपाल उद्योग परिसंघले आज बिहीबार आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा यस्ता धारणा व्यक्त गर्नुभएको हो ।

अध्यक्ष प्रचण्डले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको नेतृत्व गरेर आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताउनु भएको छ । उक्त कार्यक्रममा बोल्दै प्रचण्डले ‘ म चाहन्छु आगामी निर्वाचनपछि फेरि एकपटक देशलाई आर्थिक विकासमा गति दिनको निम्ति ऐन कानुनमा आवश्यक सुधार र संशोधनसहित राजनीतिक पार्टीहरू र अन्तर्राष्ट्रिय मित्रहरूबीचको सहकार्यलाई नयाँ उचाईंमा उठाइनेछ,’ भन्नुभएको छ ।

प्रचण्डले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिइकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने भन्दै उहाँले संविधानसभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको दाबीसमेत गर्नुभयो । अध्यक्ष प्रचण्डले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको चर्चा गर्नुभयो ।