फाइल तस्वीर

काठमाडौं – पाँच दलीय सत्तागठबन्धन दलका शीर्ष नेताहरु यतिबेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जम्मा हुनुभएको छ । निर्वाचन आयोगले आगामी असोज २ र ३ गते समानुपातिकतर्फको बन्द सूची बुझाउने मिति तोकिसकेकोले त्यसअघि नै सङ्घ र प्रदेश सभाको सिट बाँडफाँडको टुङ्गो लगाउन नेताहरु बैठकमा सहभागी हुनुभएको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा साझा उम्मेदवार उठाउने गरी सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनका दोस्रो तहका नेताहरु सम्मिलित गठित कार्यदलमा सिटको विषयमा सहमति जुट्न नसकेपछि अहिले बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल भैरहेको छ ।

सिट बाँडफाँट गर्न गठित ११ सदस्यीय कार्यदलले निरन्तर काम गर्दैै आएको शीर्ष नेताको बैठक अघि बिहीबार पनि बिहानैदेखि कार्यदलका सदस्यहरु सहमतिको प्रयासमा जुटेता पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

कार्यदलले बुधबारसम्म ८८ वटा निर्वाचन क्षेत्रमो टुङ्गो लगाइसकेको छ । जसमा काङ्ग्रेस ६० स्थानमा, माओवादी १२ स्थानमा, एकीकृत समाजवादी र जसपाबीच ८÷८ स्थानमा कुरा मिलेको छ । आज बसेको कार्यदलको बैठकले टुङ्ग्याएका थप क्षेत्रका आधारमा शीर्ष नेताहरुले भागवण्डा मिलाउन यतिबेला छलफल भैरहेको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रका लागि काङ्ग्रेसले एक सय, माओवादीले ६०, जनता समाजवादी पार्टीले ३२ र एकीकृत समाजवादीले कम्तिमा २६ निर्वाचन क्षेत्रमा दावी गरेका छन् । नेपाली काङ्ग्रेस ८६ सिट र माओवादी केन्द्र ५० सम्ममा सहमति गर्न लचक देखिएता पनि एकीकृत समाजवादी र जसपाले धेरै सिटको आकाङ्क्षा राख्दा सिट बाँडफाँट गर्न गठबन्धनलाई सकस परेको छ ।