फाइल तस्वीर

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । बलात्कारको आरोप लागेका सन्दीपलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

एक १७ वर्षीया नाबालिकले आफुलाई सन्दीप लामिछानेले होटलमा लगेर बलात्कारको भन्दै मङ्गलबार उनी विरुद्ध गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । त्यसबारे अनुसन्धानका लागि क्रिकेटर सन्दीपलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । ती बालिकाले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पु¥याएर आफूमाथि पटक–पटक बलात्कार गरेको जाहेरी पत्रमा उल्लेख गरेको प्रहरीले बताएको छ । बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण सङ्कलन गरिरहेको छ ।

अनुसन्धानका क्रममा उनी बसेको भनिएको नगरकोट र काठमाडौँका होटलका सिसिटिभी फुटेज सङ्कलन गरिएको प्रहरी परिसर काठमाडौँले बताएको छ । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा छन् ।