काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्ल प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार सिफारिस हुनुभएको छ । सल्यान जिल्ला समन्वय समितिको बैठकले मल्लको नाम सिफारिस गरेको हो । समन्वय समितिको बैठक हिजो बुधबार बसेको थियो ।

मल्ल अखिल क्रान्तिकारीका पुर्व अध्यक्ष पनि हुनुहुन्छ । उहाँ हाल प्रचण्डको सचिवालयमा कार्यरत रहदैं आउनुभएको छ । लामो समयदेखि प्रचण्डको प्रमुख स्वकीय सचिव रहनुभएका जोखबहादुर महरालाई लुम्बिनी प्रदेशको सह इन्चार्ज बनाएर मल्ललाई गत २७ कार्तिकमा प्रचण्डको स्वकीय सचिवालयमा नियुक्त गरिएको थियो ।

मल्ल अहिले पार्टीमा पोलिटब्यूरो सदस्य रहनुभएको छ । मल्लसँगै सल्यानबाट वर्तमान सांसद टेकबहादुर बस्नेत पनि सिफारिसमा पर्नुभएको छ । सिफारिसमा दोस्रो नम्बरमा मल्लको नाम राखिएको छ भने पहिलो नम्बरमा बस्नेतको नाम सिफारिसमा परेको छ । माओवादी केन्द्रको उम्मेदवार नाम सिफारिस गर्ने आज (२३ भदौ) अन्तिम दिन हो ।