काठमाडौं – काठमाडौं महानगरपालिकाको शिक्षा सल्लाहकारमा रेशु अर्याल नियुक्त हुनुभएको छ । प्रमुखस्तरीय निर्णयबाट उहाँ नियुक्त हुनुभएको महानगरपालिकाले जनाएको छ । अर्याल सामाजिक अभियन्ता हुनुहुन्छ । उहाँले सिङ्गापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनबाट स्नातक र कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारका लागि नेतृत्व विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

महानगरका अनुसार सन् २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरे बापत सिङ्गापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले अर्याललाई प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत पनि गरेको थियो । अर्याल टिच फर नेपालकी संस्थापक बोर्ड सदस्य पनि हुनुहुन्छ, जसले पाँच वर्ष अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

उहाँ अहिले नेतृत्व परिषदको सदस्य रहनुभएको छ । सन् २०१७ को सेप्टेम्बरदेखि २०२२ को मार्चसम्म उहाँ फुल ब्राइटको कार्यकारी निर्देशक रहनुहुन्थ्यो । उहाँ हवेली आउटडोर लर्निङ सेन्टरका संस्थापक निर्देशक पनि हुनुहुन्छ ।