फाइल तस्वीर ।

काठमाडौं – आज ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभर हरेक वर्ष सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाउने गरिन्छ ।

सोही अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीलगायत सबैमा बधाई तथा शुभकामना व्यक्त गर्दै सबै निरक्षर नेपालीहरुलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले साक्षरता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी उपलब्धी र लक्ष्यलाई प्राप्त गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवसको नारा ‘साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने’ छ । सोही अनुसार साक्षर नेपाल अभियानलाई प्रभावकारी तवरले सञ्चालन गरी मुलुकका सबै जिल्लालाई जतिसक्दो चाँडो साक्षर घोषणा गर्न सबैको सहकार्य, सहयोग समन्वयात्मक प्रयास आवश्यक रहेको प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सरकार निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाको विभिन्न प्रयासको बाबजुद अझै एकतिहाइ जनता निरक्षर अवस्थामा रहनुले हामीले आगामी दिनमा साक्षरता अभियानलाई अझै प्रभावकारीरूपमा निरन्तर अघि बढाउनुपर्ने खाँचो रहेको भन्दै ‘शिक्षा गुणस्तरीय जीवनको आधारशीला हो । शिक्षाको बहुआयामिक महत्वलाई आत्मसात् गर्दै हाम्रो संविधानले शिक्षालाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको’ बताउनु भएको छ ।
मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र भौतिक पूर्वाधारको विकासको आधारशिलाको रूपमा लिइने शिक्षालाई विश्वभर मानव जीवनका लागि आवश्यक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यमको रूपमा स्वीकार गरिएको छ ।


प्रधानमन्त्री देउवाले ‘सरकारले शिक्षाको गुणस्तरमा सुधार गर्दै आधारभूत तहदेखि उच्च शिक्षासम्म सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको छ’ भनि शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

शिक्षालाई आम जनताको पहुँचमा पु¥याउन सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी तवरले अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले गुणस्तरीय, जीवनोपयोगी, व्यावसायिक र प्राविधिक शिक्षाको प्रवद्र्धन गर्दै देशको समग्र विकासका लागि आवश्यक जनशक्ति मुलुकभित्रै उत्पादन गर्न जोड दिनुपर्ने स्थिति रहेको भन्दै प्रधानमन्त्री देउवाले शिक्षाको माध्यमबाट नवप्रवर्तन र स्वरोजगारीलाई प्रवद्र्धन गर्दै शैक्षिक बेरोजगारीको सङ्ख्या कम गर्ने तथा शिक्षालाई राष्ट्र, समाज र व्यक्तिको चौतर्फी विकासका लागि उपयोगी र सहयोगी हुने किसिमले अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा ‘कोभिड–१९ को महामारीले वैकल्पिक व्यवस्थापन गरी सिकाइलाई निरन्तरता दिनुपर्ने कुरा सिकाएको सन्दर्भमा विभिन्न वैकल्पिक माध्यमबाट दिगो विकासअन्तर्गतका शैक्षिक लक्ष्य हासिल गर्न सबैले थप प्रयास गर्नुपर्ने देखिएको’ समेत उल्लेख गर्दै ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसलाई सफल पार्न आ–आफ्नो क्षेत्रबाट सबैको आवश्यक सहयोग रहने विश्वासका साथ दिवसको पूर्ण सफलताको कामना गर्नुभएको छ ।