फाइल तस्वीर

काठमाडौं – पाँचदलीय सत्तागठबन्धनको सिट बाँडफाँडको टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बिहीबार पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको कार्यदलको बैठकमा सहमति जुट्न नसक्दा बैठक पुनः आज बिहान ९ बजे बस्ने भएको हो ।

हिजो बुधबारसम्ममा सहमति हुने र प्रतिवेदन सार्वजनिक गर्ने भनिए पनि कार्यदल सहमति निकाल्न असफल भयो । यद्यपि, नेपाली काङ्ग्रेसको तर्फबाट कार्यदलको सदस्यका रुपमा रहनुभएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिजो साँझ कार्यदलको बैठक सहमति नजिक पुगेको बताउनु भएको छ ।

त्यसोता, सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री कार्कीले मङ्गलबार साँझ सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिंदै सिट बाँडफाँडमा सहमति जुटिसकेको र त्यसलाई लिपिबद्ध गर्ने काममात्र बाँकी रहेको हुँदा बुधबार प्रतिवेदन नै सार्वजनिक गर्ने बताउनु भएको थियो । बुधबार अबेरसम्म बसेको बैठक अन्तिम टुङ्गोमा पुग्न नसकेपछि बिहीबार बिहान बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष तहमा बुझाउने मन्त्री कार्कीको भनाइ छ ।

सहमतिमा अलमल हुनुको कारण शीर्ष नेताहरुबीच आगामी निर्वाचन पछि राष्ट्रपतिदेखि उपसभामुखसम्म कुन दलले लिने भन्ने विषयमा पनि छलफल भएको र त्यसबारेमा पनि अन्तिम टुङ्गो लगाउनेसम्मका कुराले सिट बाँडफाँडको विषय अल्झिएको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताए । शीर्ष नेतृत्वहरु सबै विषयलाई अहिले नै टुङ्ग्याएर गठबन्धन अघिबढ्न खोजेको ति नेताको भनाइ थियो ।