काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा अर्थमन्त्री जनार्दन शर्माले आफू पार्टीभित्र सबैभन्दा बढी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आलोचक भएको बताउनुभएको छ । अनेरास्ववियु क्रान्तिकारीको फोर्स घोषणा तथा स्वयंसेवक भेलामा अर्थमन्त्री शर्माले उक्त कुरा बताउनुभएको हो ।

आलोचनाले पनि पार्टी नीति र नेतृत्वको रक्षा हुने भन्दै उहाँले अखिल क्रान्तिकारीको नेतृत्वप्रति पनि आलोचक बन्न विद्यार्थीलाई सुझाउनुभयो । अर्थमन्त्री शर्माले सबैभन्दा बढी आलोचकसँगै आफू नेतृत्वको रक्षामा पनि उत्तिकै भूमिकामा रहेको भन्दै पार्टीभित्रको बढ्दो अराजकतालाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

शर्माले भन्नुभयो, ‘नीति र नेतृत्व सही ढङ्गले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन, लाइनले हुँदैन ।’

अखिल क्रान्तिकारीको अर्को एउटा समूहले समानान्तर गतिविधि गरिरहेकोतर्फ इंकित गर्दै शर्माले पार्टी नेतृत्वले लाइदिएको कुरा सुन्ने भन्दा सत्य कुराको आधारमा धारणा बनाएर चल्नुपर्ने बताउनुभयो । उहाँले अखिल क्रान्तिकारीभित्र अराजक गतिविधिलाई पार्टीले छुट दिन नहुने बताउनुभयो । क्रान्तिकारीका नेता पवन कार्की नेतृत्वको असन्तुष्ट समूहले मङ्गलबार रिभोलुसनरी फोर्स घोषणा गरेको थियो ।