फाइल तस्वीर

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले १९ औं निजामति कर्मचारी दिवसको उपलक्षमा आज आयोजित कार्यक्रममा बोल्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
सबैभन्दा निकट भएर काम गर्ने कर्मचारी नै भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिने हुुँदा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने उल्लेख गर्नुभयो । कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने भन्दै प्रधानमन्त्री देउवाले ‘हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो, तर तपाई कर्मचारीहरु राज्यको स्थायी सरकार हो । मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ ।” उहाँले कर्मचारीलाई आवश्यक सेवा सुविधा दिन आफू तयार रहेको बताउनुभयो । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा बोल्दै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रुपमा हुनुपर्ने भन्दै अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्नेमा जोड दिनु भयो । मन्त्री श्रेष्ठले कर्मचारी जनताको सेवक भएकोले भन्दै जनताको काम छिटोछरितो रुपमा सम्पन्न गर्न कर्मचारीहरुलाई निदेशन दिनुभयो ।

मन्त्री श्रेष्ठले सङ्घीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताउनुभयो । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने जानकारी समेत गराउनु थियो ।

सरकारका मुख्य सचिव शङ्करदास बैरागीले विगतका कमिकमजोरी औल्याउँदै निजामती कर्मचारी प्रशासन अगाडि बढ्नुपर्ने धारणा राख्दै ‘निजामती कर्मचारी तीन तहमा राष्ट्र सेवामा समर्पित हुनुपर्दछ । कसैलाई पनि अल्मलिने, ढिलो गर्ने छुट छैन । कर्मचारीतन्त्र सक्षम भएर मुलुक र जनताको सेवामा काम गर्ने हो ।’