फाइल तस्वीर

काठमाडौं – नेपाली काङ्ग्रेस पार्टी कार्यालयको निर्देशन विपरित तल्लो तहले उम्मेदवार सिफारिस गर्दा मनोमानी ढङ्गले शुल्क लिएको भन्दै केन्द्रीय कार्यालयमा उजुरी परेको छ । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ७ मा केन्द्रको निर्देशन विपरित उम्मेदवारी सिफारिस बापत शुल्क लिएपछि केन्द्रीय कार्यालयमा उजुरी परेको हो ।

काठमाडौँ महानगरपालिका कार्यसमिति सभापतिका उम्मेदवार प्रगतिमान रञ्जित, पूर्व क्षेत्रीय सभापति तथा वडा नम्बर १७ का पूर्व वडाध्यक्ष विजय माली र महाधिवेशन प्रतिनिधि मनोज रानाले उम्मेदवारी सिफारिस बापत लिइएको शुल्क फिर्ता गर्नुपर्ने भन्दै केन्द्रीय कार्यसमितिमा उजुरी दिएका छन् ।

उनीहरुले दिएको उजुरीमा ‘गैरकानुनी तथा विधान विपरित जबरजस्ती उम्मेदवारहरूको नाम सिफारिस गर्दा असुल गरिएको हुँदा उक्त रकम फिर्ता गराई पाउँ भनी यो संयुक्त निवेदन गरेका छौं’ भनि भदौ १८ गते दर्ता गराएको उजुरीमा उल्लेख गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ ले उम्मेदवारी सिफारिसका क्रममा प्रतिनिधिसभा प्रत्यक्षतर्फ प्रतिव्यक्ति ५० हजार, समानुपातिकतर्फ प्रतिव्यक्ति ३५ हजार र प्रदेशसभा प्रत्यक्षतर्फ प्रतिव्यक्ति ३५ हजार र समानुपातिकतर्फ प्रतिव्यक्ति २५ हजार रुपैयाँ शुल्क लिएको जनाइएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा निवेदन दिएका तीनै जनाले दिएको उजुरीमा क्षेत्रीय सभापति मुकुन्द रिजालमाथि कारबाहीको माग समेत गरेका छन् ।

निवेदनमा ‘पार्टीको निर्देशन विपरित कार्य गर्ने क्षेत्रीय सभापति मुकुन्द रिजाललगायत कार्यसमिति समेतलाई अनुशासनको कारबाही गरी पार्टीलाई विधानसम्मत सञ्चालन गर्नका लागि आवश्यक निर्देशनसमेत गरी पाउँ’ भनि उजुरीमा उल्लेख गरिएको छ ।

केन्द्रको निर्देशन विपरित उम्मेदवार सिफारिस गर्दा रकम असुली गर्नेलाई कारबाही हुनुपर्ने आफूहरुको माग रहेको नेता रञ्जितले बताएका छन् । उनले भने ‘अनधिकृत रूपमा उठाएको पैसा सबैलाई फिर्ता गरी क्षेत्रीय समितिलाई कारवाही गर्नुपर्छ भनेर केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला कार्यसमितिमा उजुरी दिएका छौं’ ।

उनीहरुले रकम बुझाउन नसकेर सिफारिसबाट वञ्चित गरिएका पार्टीका अग्रज र क्रियाशील नेताहरुको नाम उम्मेदवारीमा समावेश गर्न पनि केन्द्रीय कार्यसमिति समक्ष आग्रह गरेका छन् । काङ्ग्रेसले भदौ १३ गते कार्यसमितिहरूलाई परिपत्र गरेर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको थियो।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडलेको हस्ताक्षर भएको पत्रमा ‘विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनु पर्ने शुल्क तथा सहयोग रकम ९लेबी० बाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नु/उठाउनु विधान विपरित कार्य हुने भएकाले त्यस्तो नगर्नु/नगराउनु हुन निर्देशानुसार अनुरोध गरिन्छ,’ भनि लेखिएको छ ।