काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले निर्वाचनलाई प्रभावित पार्ने गरी कर्मचारीको सरुवा गरेको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले विभिन्न स्थानका प्रहरी प्रमुख तथा प्रमुख जिल्ला अधिकारीलगायतका अन्य कर्मचारीको आस्थाका आधारमा निर्वाचनमा आफू अनुकुल हुनेगरी सरुवा गर्ने काम भएको भन्दै आपत्ति जनाउनुभएको हो ।

उहाँले चुनावको मिति घोषणा भएपछि गरिएका सरुवा बदर गर्न पनि माग गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धन सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारीहरु परिचालन गरी आफ्नो पार्टीका नेता, कार्यकर्तामाथि चरम दमन गरेको जिकिर गर्दै प्रमुख सचेतक भट्टराई आगामी निर्वाचनमा पनि त्यसैलाई निरन्तरता दिने तयारी भइरहेको आरोप लगाउनुभयो । जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउने अवस्था हुन नदिने काम सरकारले गर्न नपाउने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो ‘सरकारले धमाधम दीर्घकालीन महत्वका कतिपय निर्णयहरु गर्नुका साथै यही प्रतिनिधिसभामा पनि अनेक खालको विधेयकहरु ल्याएर विवेकलाई एकछिन छाडेर बहुमतको बलमा पास गराउने प्रयत्न गरिँदैछ । त्यसैगरी कर्मचारी सरुवा जभाभावी मनलाग्दी तरिकाले निरन्तर भइरहेको छ ।

आसन्न निर्वाचनलाई प्रभावित गर्ने गरी आस्थाका आधारमा आफ्ना मान्छेहरु छानीछानी जिल्ला–जिल्लामा प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालयको प्रमुख प्रमुख जिल्ला अधिकारीको रुपमा पठाउने काम भइरहेको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत त्यसैगरी खटाउने काम गरिएको छ । यो तरिकाले निर्वाचनलाई प्रभावित गर्ने गरी आफ्ना मान्छेहरु छानीछानी लाने काम गरिएको छ ।’

निर्वाचन आयोगले यही भदौं २० गतेयता कर्मचारी सरुवा, बढुवा गर्ने काम नगर्न सरकारलाई निर्देशन दिइसकेको छ ।