फाइल तस्वीर ।

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको अभियोग लागेको छ । नेपाली क्रिकेटर लामिछानेप्रति जबरजस्ती करणी कसूरमा अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

काठमाडौं जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त गौशालाबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीद्वारा लामिछानेमाथि लागेको आरोपको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रहरीले बताए अनुसार उजुरी दिने किशोरीले भदौ ५ गते दिनभर काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा लगेर काठमाडौं ल्याई सिनामङ्गलको एक होटलको कोठा नम्बर ३०५ मा भदौ ६ गते बिहान साढे १२ बजे सन्दीप लामिछानेले बलात्कार गरेका जाहेरी दिएकी थिइन् ।

उक्त जाहेरी दर्ता पश्चात् पीडित बालिकालाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा लगी विस्तृत स्वास्थ्य परीक्षण गराइएको पनि प्रहरीले जनाएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध अस्ति सोमबार प्रहरीमा उजुरी परेको थियो । लामिछाने क्रिकेट खेलको दौरानमा अहिले नेपालबाहिर छन् । अनुसन्धानका लागि आवश्यक परेको अवस्थामा सन्दीपलाई इन्टरपोलको सहयोगमार्फत् नेपाल झिकाउन सकिने प्रहरीले जनाएको छ ।