फाइल तस्वीर

काठमाडौं – आज निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ १९ औं निजामती सेवा दिवस मनाउन लागिएको हो ।

यस दिवसको अवसरमा आज बुधबार बिहान ८ बजे सिंहदरबार परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सरिक हुनुहुने छ ।

वि.सं. २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको थियो । सोही दिनलाई निजामति दिवसको रुपमा अङ्गिकार गर्दै प्रत्येक वर्ष भदौ २२ गतेका दिनलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिदैं आएको छ ।

निजामति दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश दिंदै सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पणको भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा यो दिवसले प्रदान गरोस् भन्नुभएको छ ।

सिंहदरबार परिसरमा आयोजित विशेष समारोहमा निजामती सेवाका उत्कृष्ट कर्मचारीहरुलाई प्रधानमन्त्री देउवाबाट सम्मान समेत गरिने छ । सम्मानका लागि यस वर्ष पनि सरकारले सर्वोत्कृष्ट कर्मचारीको छनोट गर्न भने सकेन ।

उत्कृष्ट निजामती पुरस्कार पदमकुमार श्रेष्ठ, दीपकप्रसाद खतिवडा, हरिप्रसाद ज्ञवाली, मुना शर्मा, प्रकाशराज पौडेल, शोभाखर रेग्मी, सन्तोष पौडेल, सचिन्द्र कुमार यादव, रुकु शर्मा पौडेल र महङ्गु लोधले पाउने भएका छन् । निजामती पुरस्कार ३० जनालाई प्रदान गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सरकारले निजामती सेवा दिवसको अवसरमा रक्तदान, वृक्षरोपण, अतिरिक्त क्रियाकलाप लगायतका कार्यक्रम आयोजनासमेत गरेको छ । दिवसको अवसरमा आज बेलुका सबै सरकारी कार्यालयमा दीपावली गर्न सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्रसमेत गरेको छ ।