फाइल तस्वीर ।

काठमाडौं – मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सँयुक्त रुपमा मिलेर जान खोजेका पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यादलले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने भएको छ । हिजो मङ्गलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त कार्यदलको बैठकले कसले कति सिट पाउने भन्ने विषयमा सहमति गरेर सो कुरा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको हो ।

हिजो बसेको कार्यदलको बैठकले सिट बाँडफाँडको कुरा टुङ्गो लगाएको छ । प्राप्त जानकारी अनुसार सत्ताघटक मुख्य दल नेपाली काङग्रेसले प्रतिनिधिसभाको कुल १६५ सिटमध्ये १ सयमा दावी गर्दै आएकोमा अहिले ८६ सिटमा सहमत भएको छ । बाँकी ७९ सिट नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको भागमा परेका छन् ।

प्रधानमन्त्री समेत रहनु भएका पार्टी सभापति शेरबहादुर देउवाले कार्यदलमा रहेका आफ्ना नेताहरुलाई ८६ सिटमा सहमति गर्न निर्देशन दिनुभएको कुरा सार्वजनिक भएको थियो । सरकारका प्रवक्ता समेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्कीले हिजोमात्रै सबैलाई चित्तबुझ्ने गरी सहमति हुने बताउनु भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सभापति देउवासँग आइतबार वान टु वान वार्ता गरेर कुल सिट सङ्ख्याको ५० प्रतिशत काङ्ग्रेसले लिएर बाँकी सिट मिलाउने जिम्मेवारी आफूलाई दिन आग्रह गर्नुभएको थियो ।

हिजो बसेको कार्यदलको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको भन्दै सहमति भएका कुराहरुलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेको जानकारी दिनुभएको थियो । आज बुधबार बस्ने सिट बाँडफाँड कार्यदलको बैठकले प्रतिवेदन नै तयार गरी र शीर्ष नेताहरुसँग बस्ने भनिएको छ । कार्यदलको बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।