प्रधानमन्त्री देउवासँग भारतीय सेनाध्यक्ष पाण्डेबीच शिष्टाचार भेट । तस्वीर: जनसम्पर्क तथा सूचना निर्देशनालय

काठमाडौं – नेपालको पाँचदिने भ्रमणमा आउनु भएका भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नुभएको छ । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका प्रधानमन्त्री देउवासँग आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भारतीय स्थल सेना प्रमुख पाण्डेले शिष्टाचार भेट गर्नुभएको हो ।

नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भदौ १९ गते आइतबार नेपाल आउनु भएका सेनाध्यक्ष पाण्डेले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेट्नु भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले सेनाध्यक्ष पाण्डेलाई मानार्थ सेना प्रमुखको दज्र्यानी चिन्नले सुशोभित गर्नुभएको ।

भारतीय स्थल सेना प्रमुख पाण्डेले यसअघि आजै बिहान माउण्डेन फ्लाइट गरी हिमालको दृश्याङ्कन समेत गर्नुभएको थियो । त्यसपछि उहाँले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको अवलोलक गर्न जानुभएको थियो । भ्रमणकै क्रममा भारतीय सेना प्रमुख पाण्डेले उक्त कलेजमा तालिमरत सैनिक कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थी अधिकृतहरुसँग पनि अन्तरक्रिया गर्नुभएको थियो । भारतीय सेना प्रमुख पाण्डे भोलि बुधबार राम्रो मौसम भएमा मुक्तिनाथ दर्शनका लागि मुस्ताङ जानुहुने कार्यक्रम रहेको छ ।