फाइल तस्वीर

काठमाडौं – मङ्सिर पहिलो साताहुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा पठाइने भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह मन्त्रालयद्वारा स्वीकृत भैसकेको छ । मन्त्रालयद्वारा स्वीकृत कार्यविधिमा कात्तिक ९ गतेदेखि म्यादी प्रहरीलाई कार्य क्षेत्रमा खटिने नेपाल प्रहरीका डीआईजी एवम् प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभयो ।

डीआईजी राईका अनुसार म्यादी प्रहरी भर्नाका लागि यही भदौ २६ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरिने छ । त्यस्तै, भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन दिन सकिने, असोज ९ देखि १४ गतेसम्म छनोट प्रक्रिया र असोज २५ गते नजिता प्रकाशन गर्ने गरी कार्यविधि गृहमन्त्रालयले स्वीकृत गरेको छ । छानिएका म्यादी प्रहरीलाई असोज २७ र २८ गते गरी दुईदिनमा नियुक्ति पत्र दिने कार्यविधिमा उल्लेख गरिएको छ ।

यसैगरी उनीहरुलाई कात्र्तिक ८ गते तालिम सम्पन्न गरी भोेलिपल्ट अर्थात् ९ गतेबाट म्यादीमा नियुक्त भएका प्रहरीलाई कार्यक्षेत्रमा खटाइने भएको छ । म्यादी प्रहरीको कार्यवधी ४० दिनको हुने प्रवक्ता राईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभरका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी भएको प्रवक्ता राईले बताउनुभयो । यसका लागि अर्थ मन्त्रालयले दुईसाता अघि सहमति जनाइसकेको छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई मङ्सिर ४ गते हुने निर्वाचनको सुरक्षार्थ पहिलो प्राथमिकता दिने बताइएको छ ।