फाइल तस्वीर

काठमाडौं– पाँच दलीय सत्ता गठबन्धन दलहरुको बैठक आज मङ्गलबार पनि बस्ने भएको छ । हिजो सोमबार बसेको बैठक निष्कर्षविहीन भएपछि सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्न लागेको हो ।

आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्येक निर्वाचन क्षेत्रमा गठबन्धन दलले साझा उम्मेदवार बनाउन सिट बाँडफाँड गर्ने कसरत गर्दै आएका छन् । तर लामो प्रयास भैरहँदा पनि सहमतिमा पुग्न नसकेको दृष्ठान्त छ नै ।

आइतबार बसेको शीर्ष नेताहरुसहितको बैठकले आज मङ्गलबारसम्म निर्वाचन क्षेत्र र सिट बाँडफाँडको कुरा टुङ्गो लगाउने निर्णय गरेको थियो । त्यो समयसीमा आज सकिंदै छ ।

हिजो बसेको कार्यदलको बैठक पनि निष्कर्षविहिन भयो । कार्यदलको बैठक आज पुनः बस्न लागेको काङ्ग्रेसी नेता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराउनु भएको छ । मन्त्री कार्कीका अनुसार आज बस्ने कार्यदलको बैठकले सिट बाँडफाँडको टुङ्गो लगाउने र प्रतिवेदन तयार गरी शीर्ष नेताहरूलाई बुझाउने भनिएको छ ।

हिजो सोमबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभा सदस्यको कुल सिट १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो । सोही आधारमा सिट बाँडफाँडको बारेमा छलफल भएको कार्यदलका एक सदस्यले बताए ।