काठमाडौं – नेपालको पाँच दिने भ्रमणमा आउनुभएका भारतीय स्थल सेना प्रमुख मनोज पाण्डेले नेपाली सेनालाई करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाप्रमुख पाण्डेले आज सोमबार नेपाली सेना मुख्यालय जङ्गी अड्डामा एक समारोहकाबीच सैन्य सामाग्री प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभएको हो ।

नेपाली सेनालाई आज उपलब्ध गराइएका सैन्य सामग्रीहरुमध्ये ६० प्रतिशत अर्थात् १३ करोड २० लाख रुपैयाँ भारतको अनुदान सहयोगमा प्राप्त भएको हो भने बाँकी ४० प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ मूल्य नेपाल सरकारले व्यहोरेको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार ‘भारतीय स्थल सेनाप्रमुखले करिब २२ करोड रुपैयाँको सैन्य सामाग्री नेपाली सेनालाई हस्तान्तरण भएको छ । प्रवक्ता सिलवालका अनुसार भारतीय स्थल सेनाप्रमुख पाण्डेले आज १० वटा माइन प्रोटेक्टीभ भेइकल (एमपीभी), ४ वटा घोडा, मेडिकल उपकरण र मेन्टीनेन्स स्पेयर्स पार्टस नेपाली सेनालाई हस्तान्तरण गर्नुभएको हो । दुई देशबीचको सुरक्षा संयन्त्रको बैठकमा भएको निर्णय अनुसार ती सामाग्री भारतले नेपाललाई उपलब्ध गराएको बताइएको छ ।