काठमाडौं – नेपालको पाँचदिने भ्रमणमा आइतबार काठमाडौं आउनुभएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले टुँडिखेलको सैनिक मञ्चस्थित वीर स्मारकमा पुगेर आज सोमबार श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । जनरल पाण्डे नेपालको औपचारिक भ्रमणका लागि हिजो नेपाल आउनु भएको हो ।

कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका नेपाली सेनाहरुको सम्मानमा निर्माण गरिएको वीर स्मारक गै भारतीय सेना प्रमुख पाण्डेले पुष्पगुच्छा अर्पण गर्नुभएको हो । भारतीय सेना प्रमुख पाण्डेले त्यहाँको उपस्थिति पुस्तिकामा समेत हस्ताक्षर गर्नुभएको छ ।

भारतीय सेना प्रमुख पाण्डेले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्नुहुने छ । सो अवसरमा नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले आजै अपराह्न ३ बजे शीतल निवासमा भारतीय सेना प्रमुख पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुहुने कार्यक्रम रहेको छ ।

भारतीय सेना प्रमुख पाण्डेले भोलि गौशाला गै पशुपतिनाथ मन्दिरको दर्शन गर्नुहुने कार्यक्रम छ । त्यसपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट गर्नुहुने कार्यक्रम रहेको बताइएको छ । भारतीय सेना प्रमुख जनरल पाण्डेले सगरमाथाको आधार शिविर भ्रमण गर्ने र मौसम अनुकूल भए बुधबार मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्ने कार्यक्रम रहेको छ । भारतीय सेना प्रमुख पाण्डे नेपालको पाँचदिने भ्रमण पुरागरी बिहीबार स्वदेश फर्किनु हुनेछ ।