फाइल तस्वीर

काठमाडौं — आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि सिट बाँडफाँड गर्न बसेको सत्तागठबन्धन दलको बैठक आजपनि विनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा व्यापक छलफल भएतापनि दलहरुको आ–आफ्नै हठका कारण सिट बाँडफाँडको विषय टुङ्गिन नसकेको हो ।

सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चारमन्त्री एवं काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदल बैठक लगातार बसेर दुई दिनभित्र सिट बाँडफाँडको टुङ्गो लगाउने बताउनु भएको छ । मन्त्री कार्कीले भोलि सोमबार र पर्सी मङ्गलबारगरी दुई दिन कार्यदलको बैठक बस्ने र त्यसपछि टुङ्गो लागि दावी गर्नुभयो ।

मन्त्री कार्कीका अनुसार भोलि सोमबार पुनः १ बजे सिट बाँडफाँड कार्यदलको बैठक बस्ने छ । कार्यदलले लगातार बैठक बसेर सहमतिपूर्ण निर्णयमा पुग्छ र त्यो निर्णय शीर्ष नेतालाई पेस गर्ने मन्त्री कार्कीले सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भयो ।

सिट बाँडफाँटकै सेरोफेरोमा रहेर छलफल भइरहेको मन्त्री कार्कीको भनाइ थियो । न्यायोचित, सम्मानजनक र सबैले जितेको महसुस हुने गरी उनले सिट बाँडफाँड गरिने बताउँदै नेता कार्कीले सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभामा पनि जित्नेगरी सङ्ख्या बाँडफाँड गर्नेगरी गृहकार्य भइरहेको जानकारी गराउनु भयो । यसअघि शुक्रबार बसेको गठबन्धनको बैठकले प्रतिनिधिसभामा दलहरूले दाबी गरेको सिट सङ्ख्याबाट केही सिट तलमाथि गरेर सहमतिमा पुग्न नेताहरू सहमत भएको बताइएको छ ।

आज बिहानमात्रै प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँडका विषयमा छलफल गर्नुभएको थियो । त्यसक्रममा नेताहरुबीच हारजितको ‘सुश्म ढङ्गले विश्लेषण’ गरेर सोही अनुसार सिट बाँडफाँड गर्नु उपयुक्त हुनेमा नेताहरु सहमत भएको बताइएको छ ।