फाइल तस्वीर

काठमाडौं – चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपालको चार दिने भ्रमणमा आउने भएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष झान्सु नेपालको चारदिने भ्रमणमा आउन लाग्नु भएको हो ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मित्रराष्ट्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष झान्सुले भदौ २७ देखि ३० गतेसम्म नेपालको भ्रमण गर्ने जानकारी दिएको छ ।

भदौ २७ गते नेपाल आएपछि अध्यक्ष झान्सुको साथ चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरू र सभामुख सापकोटासहितको टोलीबीच द्विपक्षीय वार्ता हुने बताइएको छ । वार्तापछि सभामुख सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष भान्सुले भदौ २८ गते प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । यसैगरी चिनियाँ पाहुनाले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि हुनलागेको चिनियाँ प्रतिनिधिमण्डलको चारदिने भ्रमण दुई ठूला कम्युनिस्ट पार्टीका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रमलाई अर्थपूर्ण राजनीतिक रूपमा हेर्न थालिएको छ ।

अध्यक्ष भान्सुले भदौ २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । सोही दिन भान्सुले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि, परराष्ट्र मन्त्रालयले यी सबै भेटका सम्बन्धमा कुनै एजेण्डा भने सार्वजनिक गरेको छैन ।