फाइल तस्वीर

काठमाडौं – जारी प्रतिनिधिसभाको आज आइतबारको बैठकमा त्रिभुवन विश्वविद्यालय राजनीतिकरणबाट आक्रान्त भएको भन्दै सांसदहरुले प्रश्न उठाएका छन् । आजको बैठकमा बोल्दै नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले २०४८ सालदेखि त्रिभुवन विश्वविद्यालयमा भागबण्डाका आधारमा पदाधिकारी चयन गर्ने परम्परा सुरु भएको भन्दै विश्वविद्यालयको अवस्था सुधान गर्न ध्यान दिन आग्रह गर्नुभयो ।

विशेष समय लिएर सांसद प्रधानले विद्यार्थी र पदाधिकारीबीच द्वन्द्व बढेको भन्दै विश्व विद्यालयको विकृतिप्रति विद्यार्थीले प्रश्न उठाउँदा मुद्दा लाग्ने अवस्था आएको भन्दै चिन्दा प्रकट गर्नुभयो । सांसद प्रधानले राजनीतिक पूर्वाग्रह राख्ने पदाधिकारी नियुक्त गर्दा त्रिभुवन विश्वविद्यालयको साख गिर्दै गएको भन्दै त्यहाँ भएका विसङ्गतीहरुलाई हटाएर विश्वविद्यालयलाई प्राज्ञिक थलो कायम गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

आजकै बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाल नागरिकता विधेयकबारे राष्ट्रपतिबाट प्राप्त सुझावसहितको सन्देशलाई ग्रहण नगरिएकोमा आपत्ति जनाउनु भयो । उहाँ निर्वाचनको मिति घोषणा भैसकेपछि संसद्को बैठक चलाउनु नैतिकरुपमा उचित नहुने बताउनु भयो ।